दक्षिण एसियाकै प्रतिष्ठित अवार्डका लागि भिलेज हाइल्याण्ड मनोनयनमा
साभार: https://www.corporatenepal.com/story/280454
दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड दक्षिण एसियाली ट्राभल अवार्ड्स (एसएटीए) २०२६ का लागि नेपालको भिलेज हाइल्याण्ड रिसोर्ट मनोनयनमा परेको छ । भक्तपुरको सूर्यविनायक–८ र काभ्रेको पनौती नगरपालिका – १ को बीचमा पर्ने रानीकोटमा रहेको रिसोर्ट अत्याधुनिक सुविधा र ग्राहकमैत्री सेवाका कारण पछिल्लो समय ग्राहकहरूको रोजाइमा पर्दै आएको छ ।
दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने यो अवार्डमार्फत् हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायीलाई सम्मान गरिँदै आएको छ । यहि क्रममा मनोनयन खुला गरिएको र त्यहाँ सेवा लिएका सेवाग्राहीहरूको अनुभव र रेटिङको आधारमा उत्कृष्ट होटल छनोट गरिने आयोजकले जनाएको छ । यति प्रतिष्ठित अवार्डका लागि मनोनयनमा पर्नु रिसोर्टको लागि मात्रै नभएर सिंगो नेपाली पर्यटन उद्योगका लागि समेत गर्वको विषय रहेको रिसोर्टका सञ्चालक राम सुन्दर बकेको भनाइ छ ।
रिसोर्ट क्षेत्रमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । यहाँको रानीकोट किल्ला तथा आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्न सकिन्छ । रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको छ । रानीकोट क्षेत्रमा अवस्थित रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एसएटीए २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ । दक्षिण एसियाली ट्राभल अवार्ड्स सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली देशका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।
